काठमाडौं । नेपाली बास्केटबल खेलकै सर्वाधिक ठुलो प्रतियोगिता नेपाल बास्केटबल लिग एक साता पछाडी सरेको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले आठौं राष्ट्रिय खेलकुदको कारण खेलाडी व्यस्त हुने भएपछि प्रतियोगिता एक साता पछि सारिएको जनाएको छ ।
आठौं अन्तर्गत दाङ्गको घोराहीमा हुने महिला र पुरुष बास्केटबल बैशाख ४ गते नै सकिने भएपनि खेलाडीलाई आराम दिन प्रतियोगिता सारिएको हो ।
अब प्रतियोगिता बैशाख १४ गतेबाट सुरु हुनेछ । यसअघि प्रतियोगिता बैशाख ७ गतेदेखि हुने तय गरिएको थियो ।
लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । लिग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे आधारमा खेलाइनेछ । ५५ दिन चल्ने प्रतियोगितामा कुल ६८ खेल हुनेछ ।
दुई चरणको लिगपछि शिर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । प्ले अफमा पहिलो र दोस्रो हुनेले पहिलो क्वालिफायर खेल्नेछ । विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्नेछ ।
तेस्रो र चौथो हुने टोलीले इलीमिनेटर खेल खेल्ने छ । जसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।