काठमाडौं । नेपाली बास्केटबल खेलकै सर्वाधिक ठुलो प्रतियोगिता नेपाल बास्केटबल लिग बैशाख दोस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमबार पत्रकार सम्मेलन गर्दै लिग बैशाख ७ गतेबाट आयोजना हुने जनाएको छ ।
लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । लिग डबल राउण्ड रोबिन लिगका आधारमा होम एण्ड अवे आधारमा खेलाइनेछ । ५५ दिन चल्ने प्रतियोगितामा कुल ६८ खेल हुनेछ ।
दुई चरणको लिगपछि शिर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् । प्ले अफमा पहिलो र दोस्रो हुनेले पहिलो क्वालिफायर खेल्नेछ । विजेता फाइनलमा पुग्नेछ भने उपविजेताले दोस्रो क्वालिफायर खेल्नेछ ।
तेस्रो र चौथो हुने टोलीले इलीमिनेटर खेल खेल्ने छ । जसको विजेताले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तै दोस्रोले १ लाख र मोस्ट भ्यालुएबल खेलाडी र सर्वाधिक स्कोर गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, रेफ्री, भोलेन्टियर सबैको ५ लाख बराबरको बिमा गरिएको समेत पिडिसिएनका अध्यक्ष अरुण कार्कीले जानकारी गराए ।
यस संस्करणमा गोल्डेन गेट इन्टरनेशनल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, बुढानिलकन्ठ नगरपालिका बास्केटबल क्लब, रोयल बास्केटबल क्लब, किर्तिपुर बास्केटबल क्लब,टाइम्स इन्टरनेशनल क्लब,साउथ साइडर्स बास्केटबल क्लबले खेल्ने छन् ।
प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । पहिलो दिन गोल्डेन गेट इन्टरनेशनल क्लब र त्रिभुवन आर्मी तथा नेपाल पुलिस र टाइम्स इन्टरनेशनल क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि गोल्डेन गेट इन्टरनेशनल कलेजले जितेको थियो ।