काठमाडौं । प्रेस संगठन नेपालले मिडिया कप फुटसलको उपाधि शुक्रबार जितेको छ ।
नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा प्रेस युनियनलाई हराउँदै प्रेस संगठन च्याम्पियन बनेको हो ।
शान्तिनगर फुटसलमा उपाधि जित्ने क्रममा संगठनले युनियनलाई ६-१ गोल अन्तरले हरायो ।
उपाधिसंगै संगठनले १० हजार प्राप्त गरेको छ । उपविजेता युनियनले ७ हजार प्राप्त गर्दत तेस्रो भएको इमेज च्यानलले ५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा १३ गोल गरेका संगठनका दिपेन्द्र गुरुङ सर्वाधिक गोलकर्ता चुनिए । यस्तै युनियनका निशान राई उत्कृष्ट खेलाडी घोषित भए ।
यसअघि बिहीबार भएको सेमिफाइनलमा युनियनले नेपाल टेलिभिजनलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । संगठनले इमेज टेलिभिजनलाई पराजित गर्दै फाइनलमा युनियनसंगको भेट पक्का गरेको थियो ।
तेस्रो स्थानको लागि भएको खेलमा इमेजले नेपाल टेलिभिजनलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।
विजेता खेलाडीहरुलाई महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा ११ टोलीले प्रतिस्पर्धा गरेका थिए ।