काठमाडौं । एपिएफका दिपेश धामी र त्रिभुवन आर्मीका रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि हात पारेका छन् ।
हलचोकस्थित एपिएफको कभर्डहलमा शुक्रबार पुरुष एकलको उपाधि जित्ने क्रममा दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१-१२, १८-२१ र २१-१४ ले पराजित गरे । उपाधिसंगै उनले नगद ६० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
दिपेशले यो प्रतियोगितामा पुरुष एकल, युगल, मिश्रीत युगलतर्फ गरि तीन उपाधि हात पारे ।
महिला एकल तर्फ अघिल्लो संस्करणकी उपविजेता रशिला महर्जनले उपाधि उचालिन् । महर्जनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् । महर्जनले आयोजक एपिएफकी जेशिका गुरुङ्गलाई २१-१४, १३-२१ र २१-१८ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । महर्जन छात्रा यु – १७ को पनि विजेता हुन् ।
यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपिएफका दिपेश धामी र विजीत थापा मगरले ट्रफी उचाले । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१-१६, २१-४ को सहज जित निकाले ।
महिला युगल तर्फ एपिएफकी पुजा श्रेष्ठले आफ्नो साख जोगाईन् । उनले जेशिका गुरुङ्गसंग मिलेर महिला एकलकी विजेता आर्मीकी रशिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाईन् । श्रेष्ठ र गुरुङ्गको जोडीले महर्जन र राईको जोडीलाई २१-१०, २१-१९ को सोझो सेटमा पराजित गरे ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक राम शरण पौडेल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, लगायतले पुरस्कार वितरण गरेका थिए ।