काठमाडौं । एपिएफका दिपेश धामी र त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा स्थान बनाएका छन् ।
हलचोकस्थित एपिएफको कभर्डहलमा बुधबार भएको क्वाटरफाइनलमा दिपेशले एपिएफकै गौतम सिंह कठायतलाई २१-१४, २१-८ ले पराजित गरे । यस्तै प्रफुलले एपिएफका सुदिप सेढाईलाई २१-१८, २१-११ को सेटमा पाखा लगाए ।
यस्तै सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्यले पनि अन्तिम चारको यात्रा तय गरे । प्रिन्सले एपिएफका सुनिल जोशीलाई २१-१५, २१-१९ ले तथा जीवनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१-१८, २१-१७ ले पराजित गरे ।
पुरुष युगलमा दिपेश र बिजित थापा मगरको जोडीले एपिएफकै बिशाल प्रधान र विमल श्रेष्ठको जोडीलाई २१-१३, २१-१९ ले पाखा लगाए । युगलतर्फ पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडी, एपिएफका सुदीप सेढाई र साजन कृष्ण ताम्राकारको जोडी र आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
मिश्रीत युगलतर्फ दिपेश र पुजा श्रेष्ठको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनलाई २१-१७, २१-७ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे । मिश्रीत युगलतर्फ एपिएफका गौतम कठायत र सुनैना मुखिया,आर्मीका सुरोज महर्जन र अमिता गिरी तथा एपिएफका बिजित थापा मगर र शोभा गौचनको जोडी पनि सेमिफााईनलमा स्थान बनाउन सफल भए ।
महिला एकलतर्फ आर्मीका तीन खेलाडीले सेमिफाइनलमा स्थान बनाए । आर्मीका अमिता गिरी, रशिला महर्जन र अनुमाया राईले अन्तिम ४ मा स्थान पक्का गरे । यस्तै एपिएफकी जेशिका गुरुङले पनि सेमिमा स्थान बनाएकी छिन् ।
महिला युगलतर्फ आर्मीका अमिता गिरी र अञ्जना भट्टको जोडी, एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडी, आर्मीका अनुमाया राई र रशिला महर्जनको जोडी र पुजा र जेशिकाको जोडीले सेमिफाइनलमा स्थान पक्का गरे ।
छात्र एकलतर्फ प्रिन्स दाहालले सेमिफाईनलमा एपिएफका प्रियांशु सिंह क्षेत्रीसंगको भेट पक्का गरेका छन् । यस्तै एपिएफका पेम्बा शेर्पा र आर्मीका दिवस संकरले सेमिमा खेल्ने छन् ।
छात्रा एकलतर्फ आर्मीका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका निता लम्साल र सिमा राजबंशीले सेमिमा स्थान बनाए ।