काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबका सुशील थापा थाईल्याण्डमा आयोजना हुने ए.एच.बिसी एलाईट महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
नेपाल बक्सिङ संघले शुक्रबार आयोजना गरेको छनोटमा पुरुषको ४० केजी तौल समूहमा सुशीलले प्रदेश नम्बर ३ का मदन डंगोललाई हराएर च्याम्पियनसिपका लागि छनोट भए । फाइनलमा सुशीलले मदनलाई ५-० अंकले पराजित गरे ।
छनोट अन्तर्गत पुरुषको सुपर हेबिवेटको ९१ केजीतर्फ आर्मीका आशिष दवाडी र प्रदेश ४ का कुशल राणा मगरले फाइनलमा स्थान बनाएका छन् ।
यस्तै महिला ५१ केजी तौल समूहमा एपीएफकी माला राई र आर्मीकी विमला श्रेष्ठले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । महिला ६१ केजी तौलमा एपीएफकी संगिता सुनार र आर्मीकी पुनम रावलले फाइनल प्रतिस्पर्धा गर्ने छिन् ।
तीनै तौल समूहको फाइनल खेल शनिबार हुनेछ । विजेताले च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
एशियन बक्सिङ फ्रेडेशनको आयोजनामा बैंककमा हुने च्याम्पियनसिपमा नेपालबाट समान २/२ महिला पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप अप्रिल १६ देखि २६ सम्म आयोजना हुनेछ ।