काठमाडौं । फरक फरक अस्तित्वमा रहेका दुई वटा नेपाल कराँते महासंघको विवादमा सहमती जुटेको छ । लामो समययता राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको दाबी गर्दै अस्तित्वमा रहेका दुई संघ निर्वाचनमार्फत एक हुने बिषयमा सहमती जुटेको हो ।
संघहरुको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रायले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत विवाद समाधान गर्न सहमत गराएको हो । राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघलाई दावा गुरुङले नेतृत्व गर्दै आएका छन् । पुरेन्द्रबिक्रम लाखे नेतृत्वको महासंघलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटिको साथ थियो ।
सहमती अनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्ने कार्यादेश सहित शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिति गठन भएको छ । समितिको सह संयोजकमा दावा लामा छन् । समितिको उपाध्यक्षमा पुरेन्द्र पुक्रम लाखे, महासचिवमा हरिचरण केसी, सह महासचिवमा ओमकृण्ण प्रसाई, सचिवमा बीआर मित्र र श्याम शेर्पा, कोपाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् ।
बुधबार एक कार्यक्रमको आयोजना गरेर तदर्थ कमिटिलाई राष्ट्रिय खेलकुद परिषद राखेपले औपचारिकता मान्यता दिने तयारी भएको छ ।
सन् २०११ मा तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले आफ्नो संरक्षकत्वमा दावा गुरुङको अध्यक्षतामा नेपाल कराते महासंघ पुनर्गठन गरेका थिए ।
दुई वटा कराँते महासंघ अस्तित्वमा रहदाँ अन्तराष्ट्रिय रुपमा चिनिएको नेपाली कराँतेको प्रर्दशन निरन्तर ओरोलो लागिरहेको छ । सन् २०१४ मा कराँतेबाट दुई टिम भएर एसियन गेम्समा सहभागि भएको लज्जास्पद ईतिहास नेपाली खेलकुदमा छ । कराँतेको विवादका कारण १२ औ दक्षिण एसियाली खेलकुदमा यसलाई समावेश गरिएको थिएन ।
संघहरुको विवादका कारण खेलक्षेत्रमा नतिजा निकाल्न नसकेको निष्कर्श सहित युवा तथा खेलकुद मन्त्रालयले संघहरुको विवाद समाधानमा अग्रसरता देखाईरहेको छ ।
फरक अस्तित्वमा रहेका एकै प्रकृतिका संघको विवाद समाधान गर्न राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना नेतृत्वको समितिले पछिल्लो समय नतिजामुखी काम देखाएको छ ।
समितिले गत साता मात्र मोर्डन पेन्टाथलन संघको विवाद समाधान गरेको थियो । समितिले गत माघ ९ गते नेपाल जिम्न्यास्टिक संघको पुर्नगठन गरेको थियो ।