पोखरा । तेस्रो संस्करणको कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको ठमेल युनाइटेडले जितेको छ ।
पोखरामा आइतबार भएको उपाधि भिडन्तमा कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गर्दै ठमेलले उपाधि जितेको हो ।
उपाधिसंगै ठमेलले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको कास्कीले ३३ हजार ३ सय ३३ प्राप्त गर्यो ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा कास्कीका रबिन शाही उत्कृष्ट खेलाडी घोषित भए । ठमेलका कर्मा गुरुङले सर्वाधिक स्कोररको उपाधि जिते ।
विजेता खेलाडीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोबिन्द पुरी, सोसल पव्लिकका संस्थापक खिम गुरुङ लगायतले पुरस्कृत गरे ।
४० वर्ष देखि माथी उमेर समूहका खेलाडीले सहभागिता जनाउन पाउने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।