१९ वर्षयताकै खराब सुरुआतमा पीएसजी

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा १९ वर्षयताकै खराब सुरुआत गरेको छ। शुक्रबार घरेलु मैदानमा मोनाकोसँग २–१ ले पराजित भएपछि पीएसजीले सिजनका तीन खेलमा कुनै जित निकाल्न सकेको छैन।
यद्यपि, च्याम्पियन्स लिगको उपाधि रक्षा अभियान सुरु गर्न केही दिनअघि पीएसजीले प्रशिक्षक लुइस एनरिकेको सम्झौता सन् २०३० सम्मका लागि थप गरेको छ।
मोनाकोविरुद्धको खेलमा पीएसजी पहिलो हाफमा १–० ले अघि थियो। तर‚ दोस्रो हाफमा दुई गोल खाएपछि टोली पराजित भयो। हारपछि एनरिकेले नतिजाबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको बताए।
‘चिन्ता गर्नुपर्ने कुनै कारण छैन। म यो कुरा इमानदारीपूर्वक भनिरहेको छु। मोनाकोले लक्ष्यतर्फ कति प्रहार गर्यो? दुई। कति गोल भयो? दुई। सिजनको अन्त्यमा हेर्दा सबै कुरा सन्तुलित हुन्छ कि हुँदैन, थाहा हुनेछ,’ उनले भने।
एनरिकेले टोलीको प्रदर्शनलाई नतिजाभन्दा फरक ढंगले हेर्नुपर्ने बताए। ‘मैले भन्न चाहेको कुरा के हो भने नतिजालाई मात्र हेर्नु हुँदैन। हामीले उत्कृष्ट रूपमा दबाब सिर्जना गर्यौं। धेरै खेलमा गोल नखाँदा पनि यति राम्रो प्रदर्शन गरेका थिएनौं। तर‚ यसपटक भाग्य हाम्रो पक्षमा थिएन,’ उनले भने।
मोनाकोविरुद्धको हारलाई उनले दुर्लभ पराजयका रूपमा समेत व्याख्या गरे। ‘मोनाकोलाई थाहा छ, यदि उनीहरूले हामीविरुद्ध यसरी १० पटक खेले भने हामी आठ खेल जित्छौं, एक बराबरी हुन्छ र एक खेल हार्छौं। यो त्यही एउटा हार थियो,’ एनरिकेले दाबी गरे।
तीन खेलबाट दुई अंक मात्र जोडेको पीएसजीको सुरुआत सन् २००७–०८ सिजनयताकै खराब हो। त्यतिबेला पीएसजी रेलिगेसननजिक पुगेको थियो। ३८ टोलीमध्ये १६औं स्थानमा सिजन सकाएको थियो।
उक्त सिजन पीएसजीले लिगमा छैटौं खेलसम्म पहिलो जित निकाल्न सकेको थिएन र रेलिगेसन क्षेत्रभन्दा तीन अंक माथि रहेर सिजन समाप्त गरेको थियो।
यसपटक भने पीएसजी सुरुआती चरणमै शीर्ष स्थानभन्दा सात अंक पछाडि परेको छ। तर‚ एनरिकेले यसलाई टोलीका लागि थप प्रेरणाको विषय भएको बताएका छन्।
‘यो मेरा खेलाडी, टोली र क्लबका लागि अविश्वसनीय प्रेरणा हो। सिजनको अन्त्यमा को च्याम्पियन हुन्छ भनेर बाजी लगाउन चाहनुहुन्छ भने लगाउन सक्छौं। सात अंक? ठीक छ, हामी यो अन्तर सकेसम्म छिटो घटाउने प्रयास गर्नेछौं,’ उनले भने।
पीएसजीले बुधबार स्लोभान ब्रातिस्लाभालाई घरेलु मैदानमा आतिथ्य गर्दै च्याम्पियन्स लिग अभियान सुरु गर्नेछ। टोलीको लक्ष्य लगातार तेस्रो युरोपेली उपाधि जित्ने रहेको छ।














-1788625802942.avif&w=3840&q=75)
