काठमाडौं । तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ्ग र आकाश छन्त्यालको जोडीले नवौं संस्करणको बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका छन् ।
किङ्ग कम स्पोर्टस् क्लबको आयोजनामा बुधबार सम्पन्न फाईनलमा देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडीलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै गुरुङ्ग र छन्त्यालको जोडीले उपाधी हात पारेका हुन् ।
बिजेता गुरुङ्ग र छन्त्यालले नगद ४० हजार सहित रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । उप बिजेता बनेका राना र श्रेष्ठको जोडीले नगद २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै बुधबारनै तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडी बिजयी भए । पेम्बा र लोकको जोडीले रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भूवन श्रेष्ठको जोडीमाथि १६–२१, २१–१५ र २३–२१ को कठिन जित निकाल्दै तेश्रो स्थान हात पारेका हुन् । पेम्बा र लोकको जोडीले नगद १५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र हात पारे ।
नव खेलाडी उत्पादन गर्ने उद्धेश्यले राष्ट्रिय बरियतामा शिर्ष २० स्थानमा रहेका खेलाडीहरुलाई प्रतिस्पर्धामा बन्देज गरिएको प्रतियोगितामा २० क्लबका १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष युगलमा मात्र प्रतिस्पर्धा गराईएको प्रतियोगताको लागत ४ लाख ९५ हजार रहेको छ ।