नेपाललाई इरानको चुनौती

काठमाडौं। नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) महिला भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गर्न बिहीबार इरानसँग प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपरान्ह्र ५ बजे हुने तय छ। पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित नेपालले दोस्रो खेलमा किर्गिजस्तानसँग ३–० को सोझो सेटमा जित हात पार्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।
अब नेपालको लक्ष्य फाइनल यात्रा तय गर्नु हुनेछ। त्यसका लागि बिहीबार साबिक विजेता इरानसँग प्रतिस्पर्धा गर्नेछ। इरानले अघिल्लो संस्करणको फाइनलमा उज्वेकिस्तानलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। यद्यपि, त्यस संस्करणमा नेपाल र भारत सहभागी थिएनन्।
इरान नेपालका लागि अपरिचित प्रतिद्वन्द्वी भने होइन। सन् २०२४ मा आयोजित काभा नेसन्स लिगमा यी दुई टोली लिग चरणमै आमनेसामने भएका थिए। त्यस प्रतियोगितामा नेपालले सुरुआती खेलमै श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुआत गरेको थियो। दोस्रो खेलमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
तर, तेस्रो खेलमा नेपाल अपेक्षाअनुसार प्रदर्शन गर्न असफल रह्यो र इरानसँग ३–२ ले पराजित भयो। त्यसपछि लिग चरणको अन्तिम खेलमा दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको नेपालले अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो। पाँच टोली मात्र सहभागी उक्त प्रतियोगितामा काभाले लिग चरणको शीर्ष टोलीलाई चौथो स्थानको टोलीसँग तथा दोस्रो स्थानको टोलीलाई तेस्रो स्थानको टोलीसँग सेमिफाइनल खेलाउने ढाँचा बनाएको थियो।
लिग चरणमा सात अंक जोडेको इरान तेस्रो र नेपाल नौ अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेका थिए। त्यस सेमिफाइनलमा नेपालले जुनियर खेलाडी समेटिएको इरानी टोलीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै फाइनलमा स्थान बनायो। त्यस हारसँगै इरान तेस्रो स्थानमा सीमित बनेको थियो।
तर, यसपटक इरानी टोली अघिल्लो संस्करणको तुलनामा निकै बलियो देखिएको छ। इरान यस प्रतियोगितामा कजाखस्तान, श्रीलंका र बाङ्लादेशलाई समान ३–० को सेटमा पराजित गर्दै नौ अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। उल्लेखनीय कुरा के छ भने, इरानले जारी प्रतियोगितामा अहिलेसम्म एक सेट पनि गुमाएको छैन।















