काठमाडौं । देउराली क्लबका थम राना र हिमांशु श्रेष्ठको जोडी नवौं बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको सेमिफाइनलमा राना र श्रेष्ठको जोडी कम्प्लिट हेल्थ क्लबका पेम्बा शेर्पा र लोक लामाको जोडीलाई २२-२० र २१-१६ को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेका हुन् । अब फाइनलमा थम र हिमांशुको जोडीले तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ र आकाश छन्त्यालको जोडीसंग प्रतिस्पर्धा गर्नेछन् ।
भिमसेनगोलास्थित किङ्ग कम स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अभिषेक र आकाशको जोडीले ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भूवन गुरुङको जोडीलाई पराजित गरे ।
अभिषेक र आकाशको जोडीले रदीप र भूवनको जोडीमाथि २१-१९ र २१-९ को सेटमा जित निकाले । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।