१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

काठमाडौं। मुम्बई इन्डियन्सले आफ्नो इतिहासकै सबैभन्दा ठूलो रन चेज पूरा गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)मा १३ वर्षपछि पहिलो खेल जितेको छ।
आइतबार भएको खेलमा टोलीले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो। टस हारेर पहिले जवाफमा मुम्बईले १९.१ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
यसअघि मुम्बईले सन् २०१२ मा मात्रै प्रतियोगिताको आफ्नो पहिलो खेल जितेको थियो। त्यतिबेला टोलीले चेन्नई सुपर किंग्सलाई हराएको थियो। त्यस्तै, मुम्बईको सबैभन्दा ठूलो रन चेज पनि सन् २०२१ मा चेन्नईविरुद्ध २१९ रनको थियो।
मुम्बईले यी दुवै रेकर्डमा सुधार गरेको छ। मुम्बईलाई जिताउन रोहित शर्माले ७८ रन बनाए। ३८ बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे।
रायन रिकेल्टनले ८१ रनको उत्कृष्ट योगदान दिए। उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे। तिलक बर्मा २० र सूर्यकुमार यादव १६ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहे।
बलिङतर्फ शार्दूल ठाकुरले ३ विकेट लिए।
त्यसअघि वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको कोलकाताले ४ विकेट गुमाएर २२० रन बनायो। कोलकाताका कप्तान अजिंक्य रहाणेले ६७ रन बनाए। ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे।
अंगकृष रघुवंशीले २९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन जोडे। फिन एलन ३७ र क्यामरुन ग्रिन १८ रनमा आउट हुँदा रिंकु सिंह ३३ रनमा अविजित रहे।
बलिङतर्फ वैभव अरोरा, सुनील नारायण र कार्तिक त्यागी ले १–१ विकेट लिए।














