श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको आईटीएफ जुनियर सर्किटमा जे ३० मा नेपालकी शिभाली गुरुङले एक स्वर्ण र एक रजत पदक प्राप्त गरेकी छिन् ।
कोलम्बोमा भएको प्रतियोगितामा शिभालीले डबल्समा स्वर्ण र सिंगल्समा रजत पदक प्राप्त गरेकी हुन् ।
शनिबार भएको सिंगल्समा शिभाली श्रीलंकाकी नम्बर एक खेलाडी दिनारा डि शिल्भासँग ६–४ र ६–३ को सेटमा पराजित भईन् ।
दुवै सेटमा शिभालीले अग्रता लिएकी थिईन् । तर अनुभवी खेलाडी दिनाराको चुनौती पन्छाउन भने सकिनन् ।
डब्लस ईभेन्टमा भने शिभाली र हान पार्कको जोडीले स्वर्ण पदक हात पारेको छ ।
कोलम्बो लगत्तै शिभालीले अब अष्ट्रेलियाको मेलवर्नमा जे १०० ईभेन्टमा प्रतिस्पर्धा गर्नेछिन् ।
यसअघि शिभाली पोखरामा भएको जे ३० मा सिंगल्स, डबल्स दुवै ईभेन्टमा स्वर्ण पदक हात पारेकी थिईन् ।
नेपाली टेनिसकी युवा खेलाडी शिभालीले गत महिनामात्र अष्ट्रेलियन ओपनको ईलिट ट्रफीको सेमिफाइनल यात्रा तय गरेकी थिईन् ।
शिभालीले सन् २०२७ को जुनियर ग्रान्डस्लाम खेल्ने लक्ष्य सहित आईटीएफको सर्किटमा लगातार प्रर्दशन गर्दै आईरहेकी छिन् ।
शिभालीको अन्तराष्ट्रिय खेल करियरमा नेपालको भाटभटेनी समूह र श्रीलंका टूरमा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले सहयोग गरेको बुवा सिमान्त गुरुङले बताए ।













