टाइगर कपका खेल बहुउद्देश्यीय कभर्डहलमा सारियो

फाइल तस्बिर
हिमालयन मनोज, पोखरा। मौसम प्रतिकूल बनेपछि छैटौं टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गतका खेलहरू बहुउद्देश्यीय कभर्डहलमा सारिएका छन्।
यसअघि प्रतियोगिताका खेलहरू पोखरा रंगशालाको खुला भलिबल कोर्टमा सञ्चालन हुँदै आएका थिए। बुधबार पनि सोही कोर्टमा चार खेल आयोजना गर्ने तालिका रहेको थियो। बिहान साढे ८ बजे महिलातर्फको विभागीय डर्बीमा एपीएफ क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने तय थियो।
उक्त खेलपछि महिलातर्फ फाइनलमा स्थान बनाइसकेको न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई थाइल्यान्ड क्विन्सले चुनौती पेस गर्ने तालिका थियो। त्यसैगरी, तेस्रो खेल पुरुषतर्फ नेपाल पुलिस क्लब र माल्दिभ्सबीच तथा अन्तिम खेल एपीएफ क्लब र नेपाली सेनाबीच हुने तालिका तय गरिएको थियो।
तर, निरन्तरको वर्षाका कारण खुला मैदानमा खेल सञ्चालन गर्न नसकिने भएपछि आयोजकले सम्पूर्ण खेलहरू पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सार्ने निर्णय गरेका हुन्।















