एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन चलिरहँदा भटाभट अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा भारतीय नागरिक पक्राउ पर्न थालेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार एनपीएल चलिरहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाननजिकै रहेको बल्खु क्षेत्रमा आठ भारतीय नागरिकलाई पक्राउ गरेको हो। केही दिनदेखि प्राप्त सूचनाका आधारमा टोलीले उनीहरूलाई निगरानी गर्दै आएको थियो।
प्रहरीका अनुसार पक्राउ परेकाहरू सबै भारतको आन्ध्र प्रदेशका हुन्। पक्राउ परेकामा ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल शामिल छन्।
उनीहरू काठमाडौंको सामाखुसी क्षेत्रमा बस्दै आएका थिए। उनीहरू अनलाइन बेटिङसाइटमार्फत एनपीएलका खेलमा सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।
विभिन्न मोबाइल उपकरणमार्फत खेलको लाइभ अपडेट हेरी दर परिवर्तन अनुसार सट्टाबाजी चलाउने कार्यमा उनीहरू सक्रिय रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
बल्खुबाट पक्राउ गर्दा उनीहरूको साथबाट १५ थान मोबाइल फोन पनि बरामद गरिएको छ। प्रारम्भिक सोधपुछपछि प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर भद्रकाली पठाएको छ।
एनपीएलको लोकप्रियता बढ्दै गएको बेला सट्टेबाजीसम्बन्धी यस्तो गतिविधि देखिनु खेलकुद क्षेत्रमा नियमन र निगरानी अझ कडा आवश्यक रहेको संकेतका रूपमा हेरिएको छ।











-1763904378702.png&w=3840&q=75)


