यस्तै अवस्था रहिरह्यो भने सहजै हराइरहेका टिमसँग पनि संघर्ष गर्नुपर्ने हुन्छ

मैदानबाहिरको अवस्था जस्तोसुकै भए पनि हामी देशका लागि मैदानभित्र पसेपछि सधैं शतप्रतिशत दिएका छौं र दिनेछौं पनि। हाम्रा प्रतिद्वन्द्वी टोलीहरू लगातार उच्च स्तरको फुटबल खेलिरहेका हुन्छन्। तर, हामीले आफ्नै देशमा लिग नखेलेको अब तीन वर्ष पुग्न लागिसक्यो।
यसबीचमा मसँगै करिअर सुरु गर्नुभएका, मभन्दा अघि खेल्न थाल्नुभएका र मभन्दा पछि खेल्न सुरु गर्नुभएका धेरै खेलाडीहरू देश छाडिसक्नुभएको छ। तर, पनि हामी जो बाँकी छौं, सेवा–सुविधा, लिग वा प्रशिक्षण जस्तोसुकै अवस्था भए पनि आफ्नो शतप्रतिशत दिएर खेलिरहेका छौं, डटिरहेका छौं।
तर, भियतनामको मैदानमा ‘होम म्याच’ खेलेपछि नेपालमा लिग नहुने भन्ने चर्चाले मलाई निराशाको अर्को तहमा पुर्याएको छ। मैले फुटबल खेल्न एन्फा एकेडेमी प्रवेश गर्दा कहिल्यै सोचेकै थिइनँ—कुनै दिन यस्तो परिस्थितिको सामना गर्नु पर्नेछ भनेर।
हो, अहिले म बंगलादेशको क्लबमा अनुबन्धित छु। तर, यदि म अहिले आफ्नै बारेमा सोचें भने त्यो स्वार्थी व्यवहार हुनेछ, किनकि फुटबल टिम गेम हो। जबसम्म मसँग राष्ट्रिय टिममा खेल्ने र घरेलु फुटबलमा खेल्दै राष्ट्रिय टिममा आउने खेलाडीहरूलाई नियमित खेल्ने अवसर दिइँदैन, तबसम्म ठूला टिमहरूसँग नतिजा अपेक्षा गर्नु नै गलत हुन्छ।
ठूला टिम मात्र होइन, यस्तै अवस्था लगातार रहिरह्यो भने हामीले अघिल्ला वर्षहरूमा सहजै हराइरहेका टिमहरूसँग समेत संघर्ष गर्नुपर्ने अवस्था आउनेछ भन्ने मेरो अनुमान छ।
एन्फाले लिग सञ्चालन गर्ने जिम्मेवारी निसंकोच रूपमा पूरा गर्नैपर्छ। त्यससँगै म सहभागी क्लबहरूलाई पनि एक फुटबल खेलाडीका रूपमा अनुरोध गर्न चाहन्छु— तपाईंहरू टिम निर्माण गरेर लिगका लागि तयारी थाल्नुहोस्। एन्फालाई फुटबल गराउन बाध्य पार्नुहोस्।
यदि अझै पनि तपाईंहरू एन्फाको बाटो मात्रै ताकिरहनुभयो भने क्लबहरू कागजमा सीमित हुनेछन् र खेलाडी खोजेर पनि पाउने अवस्था रहने छैन। खेलाडी र खेललाई जीवित राख्नकै लागि भए पनि लिग गर्नुहोस्।
अनन्त तामाङ नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर हुन्।