विश्व कराते च्याम्पियनसिप छनोट खेल्न पेरिस उडे ४ खेलाडी

काठमाडौं। विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स प्रस्थान गरेको छ।
एक पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्ने छन् । महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्ने छन् ।
स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणका लागि छनोट हुने छन् ।
छनोटअघि नै हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन् । बाँकी २ खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् । विभिन्न १२ स्पर्धा समावेश छनोटमा ५ सय ४९ खेलाडी सहभागी हुने छन् ।
नेपालबाट सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसकेकी छन् । सानुमायाले महिला एकल कातामा खेल्ने छिन् । टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन् ।a