काठमाडौं । नेपाली बक्सर मनोहर बस्नेत (म्याक्स) ले जापानको व्यावसायिक बक्सिङ प्रतियोगिता मुराकामी च्याम्पियनसिपको उपाधि जितेका छन् ।
जापानको योकोहोमा आइतबार सम्पन्न च्याम्पियनसिपमा जापानका पुर्व च्याम्पियन जुन इतोलाई पराजित गर्दै म्याक्स च्याम्पियन बनेका हुन् ।
योकोहोमास्थित होटेल मेल पार्कमा भएको भिडन्तमा म्याक्सले इतोलाई पहिलो चरणमै नकआउट गरेका थिए । इतोलाई नकआउट गरेसंगै म्याक्सले २ हजार अमेरिकी डलर र ट्रफी प्राप्त गरे ।
यो उपाधिसंगै म्याक्स जापानको व्यावसायिक बक्सिङ च्याम्पियनसिपमा उपाधि जित्ने पहिलो नेपाली बक्सर बनेका छन् ।
उपाधि जितेपछि म्याक्सले आफ्नो जितले नेपाली व्यावसायिक बक्सरको लागि जापानको च्याम्पियनसिपमा प्रतिस्पर्धाको लागि ढोका खुलेको बताए ।
'नेपाली व्यावसायिक बक्सिङ खेलाडीको लागि जापानमा खेल्ने वातावरण बनाउन लागि परेको छ । यो जितले म केहि सफल भएको छु । मलाई आशा छ म सफल हुनेछु,' म्याक्सले खेलपाटीसंग भने ।
नेपालको राष्ट्रिय च्याम्पियन बनिसकेका म्याक्सले यसअघि भारतका च्याम्पियन अशिदीप बुलरलाई हराएर व्यावसायिक बक्सिङको उपाधि जितेका थिए ।