नवौं स्थानमा विश्वकप सक्काएको होरले जित्यो १ करोड ७८ लाख

काठमाडौं। पहिलोपटक पब्जी मोबाइल विश्वकप (पीएमडब्युसी) मा सहभागी भएको नेपाली टोली ‘होर ईस्पोर्ट्स’ले ऐतिहासिक प्रदर्शन गर्दै नवौं स्थान हासिल गरेको छ।
साउदी अरबमा सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा विश्वका शीर्ष १५ टोलीहरूसँग प्रतिस्पर्धा गर्दै होरले कुल एक लाख २७ हजार ५०० अमेरिकी डलर (झन्डै एक करोड ७८ लाख रुपैयाँ) पुरस्कार राशि जितेको हो।
फिनालेमा नवौं स्थानमा रहँदै टोलीले ६० हजार डलर प्राप्त गर्यो। त्यसभन्दा अघि सर्भाइभल स्टेजमा शीर्ष स्थानमा रहेबापत २५ हजार डलर, ग्रुप स्टेजमा १३औं स्थानमा रहेर २७ हजार ५०० डलर र एक शो–म्याच जितेर थप १० हजार डलर पुरस्कार हात पार्न सफल भएको थियो।
होरको टोलीबाट आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरेका थिए। यो नेपाली टोलीको पहिलोपटक विश्वस्तरीय ईस्पोर्ट्स प्रतियोगिता प्रवेश हो, जसले नेपाली गेमिङ क्षेत्रका लागि ठूलो उपलब्धि मानिएको छ।
प्रतियोगिताको उपाधि म्यानमारको याङ्गोन ग्यालेक्टिकोसले १५७ अंक र चार चिकेन डिनरसहित जित्यो। उसले उपाधिसहित ५ लाख अमेरिकी डलर प्राप्त गर्यो। चीनको वेबो गेमिङ १४२ अंक साथ दोस्रो स्थानमा रहँदा मंगोलियाको अल्फा गेमिङ १४१ अंकका साथ तेस्रो भयो।
मंगोलियाका खेलाडी ‘डक’ प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै ५० हजार डलर पुरस्कार जिते।








-1762154705887.png&w=3840&q=75)





