काठमाडौं। १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आइपिएल)मा इतिहास रचेका वैभव सूर्यवंशीलाई अहिले सपना देखिरहेको जस्तो लागिरहेको छ।
आइपिएल इतिहासमै सबैभन्दा कान्छो खेलाडी बनेका उनले आफ्नो इनिङ्सको पहिलो बलमै साहसी छक्का प्रहार गरेर सबैको ध्यान खिचे। बिहारबाट आएका बायाँ हातका आक्रामक ओपनर सूर्यवंशी शनिबार जयपुरमा राजस्थान रोयल्सका लागि ओपनिङ गर्दै मैदान उत्रिएका हुन्।
उनले २० बलमा ३४ रन बनाए। उनको इनिङ्समा तीन छक्का र दुई चौका निस्किएको थियो। उनको यो इनिङ्सले राजस्थानलाई जित दिलाउन सकेन। तर, १४ वर्ष २३ दिनको उमेरमै डेब्यु गर्दै उनले विश्वभर चर्चा पाएका छन्।
नोभेम्बर २०२४ मा भएको अक्सनमा उनी १३ वर्षमै एक लाख ३० हजार पाँच सय अमेरिकी डलरमा बिकेका थिए। तबदेखि नै उनी चर्चाको केन्द्र बनेका हुन्।स्पिन बलिङ पनि गर्न सक्ने वैभवको जन्म भारतकै सबैभन्दा गरिब राज्य बिहारमा भएको हो।
उनका पिता सञ्जीव सूर्यवंशी किसान हुन्। कहिलेकाहीँ पत्रकारितामा पनि सक्रिय रहने गर्छन्। वैभवको क्रिकेट यात्रा निकै छिटो अघि बढेको छ। उनले १२ वर्षको उमेरमै जनवरी २०२४ मा रणजी ट्रफीबाट घरेलु क्रिकेटमा डेब्यु गरे। त्यसपछि अस्ट्रेलियाविरुद्धको सिरिजमा उनी भारतको यु–१९ टिममा छनोट भए।
त्यसै सिरिजमा उनले ५८ बलमा शतक बनाए, जुन युथ टेस्ट क्रिकेटको दोस्रो छिटो शतक हो। त्यसअघि सन् २००५ मा इङ्ल्यान्डका मोईन अलीले कीर्तिमान बनाएका थिए।
तर, उनलाई विश्वस्तरमा चिनाउने क्षण भने आइपिएल ‘अक्सन’ नै बन्यो। उनीमाथि भएको ‘बिडिङ वार’ले उनलाई एकाएक चर्चामा ल्याइदियो। अनुभवी भारतीय बलर शार्दुल ठाकुरको पहिलो बलमै छक्का प्रहार गरेका वैभवको भिडियो इङ्ल्यान्डका पूर्वकप्तान माइकल भानले एक्स (ट्विटर) मा सेयर गर्दै लेखेका छन्,‘यो साँच्चिकै अविश्वसनीय छ।’
भारतका पूर्वब्याट्सम्यान सञ्जय मांजरेकरले भनेका छन्,‘उनी १४ वर्षका छन्। तर, उनको सोच ३० वर्षको जस्तो लाग्छ।’ सुरेश रैनाले त अझ खुलेर भविष्यवाणी नै गरेका छन्– उनी भविष्यमा क्रिकेट कप्तान बन्नेछन्। वैभव सूर्यवंशीले अब आफ्नो क्षमता देखाउने छन्।
राजस्थान रोयल्सका प्रशिक्षक तथा भारतका पूर्वकप्तान राहुल द्रविड अक्सनअघिको ‘ट्रायल’मा नै वैभवबाट प्रभावित भएका थिए। उनी भन्छन्, ‘वैभवसँग साँच्चिकै राम्रो सीप छ।’
वैभवका पिता सञ्जीव अक्सनमा आफ्ना छोरा बिक्री भएसँगै तीन छक परे। उनलाई आफ्नो छोराको क्षमता देखेर बिक्री नै हुन्छन् भन्ने विश्वास थियो। तर, ‘बिडिङ वार’ नै होला भनेर चाहिँ उनले कल्पनासमेत गरेका थिएनन्। ‘म त छक्क परेको छु, के भन्नु म जान्दिनँ। हाम्रो परिवारका लागि यो ठूलो कुरा हो। मलाई लागेको थियो उनी छनोट हुनेछन्। तर, यस्तो बिडिङ वार हुनेछ भन्ने कल्पना पनि गरेको थिइनँ,’ उनी त्यो बेलाको कुरा सम्झिन्छन्।
उनको विश्वास छ– वैभवका लागि राजस्थान सही टिम हो। यस टिमले सञ्जु सैमसन, यशस्वी जैसवाल, ध्रुव जुरेल, रियान परागजस्ता युवालाई स्थापित गरेको छ। ‘मलाई आशा छ वैभवले पनि त्यही बाटो पछ्याउनेछ,’ उनी भन्छन्।
बिहार राज्य प्रशिक्षक प्रमोद कुमारका वैभव शान्त स्वभावका केटा हुन्। तर, क्रिकेटको कुरा आउँदा उनी दिनरात सुनाइरहन्छन्। ‘उनी संसारमा क्रिकेट खेल्नकै लागि आएका जस्तो लाग्छ,’ कुमार भन्छन्।
वैभव आइपिएल सुरु (२००८) भएको तीन वर्षपछि मात्रै जन्मिएका हुन्। आइपिएल सुरु भएपछि जन्मिएर खेल्ने मौका पाएका उनी पहिला खेलाडीसमेत बनेका छन्।
उनीभन्दा पहिलेको सबैभन्दा कान्छो खेलाडी थिए, प्रयाश रे बर्मन। १६ वर्ष १५७ दिनको उमेरमा उनले सन् २०१९ मा रोयल च्यालेन्जर्स बैंग्लुरुबाट डेब्यु गरेका थिए।