काठमाडौं। भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ। यो नतिजासँगै ४ राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोस्रो भयो। भुटान पहिलो भयो।
यिनै चार टिमको संयुक्त प्रशिक्षण शिविर पनि सम्पन्न भएको नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन्। प्रशिक्षण अप्रिल ८–१० तारिख तथा प्रतियोगिता अप्रिल ११–१३ तारिखसम्म भएको थियो।
नेपालको ७ खेलाडी फाइनल पुगेकोमा चारले स्वर्ण जित्न सफल भए। महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन्। महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अंकले आधारमा हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन्।
त्यसै गरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अंकको पछि पार्दै स्वर्ण जितिन्। पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्ण कैलाश राईलाई ५–० अंकको आधारमा पाखा लगाउँदै स्वर्ण जिते। पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसँग ४–१ अंकले पराजित हुँदै दोस्रो भए।
पुरुष ५४ केजीमा नेपालले ठूलो आशा गरिएका चन्द्रबहादुर थापा बंगलादेशका महोमद उन्सोवसँग फाइनलमा ३–२ अंकले चुके। तीनै राउन्ड नै आफ्नो पक्षमा पार्दै उत्कृष्ट खेल प्रदर्शन गरेका चन्द्रले अन्तिम राउन्डमा रेफ्रीको चेतावनी पाई अंक बराबर हुँदा पुनः जजहरूले अंक दिदा ३ः२ ले पछि पर्दै रजतमा सीमित भए। यस अघि चन्द्रले सेमिफाइनलमा भारतका खेलाडीलाई ५–० ले पन्छ्याउँदै फाइनल पुगेका थिए।