काठमाडौं । नवौँ बबिन बिक्रम बिष्ट स्मृती खुला ब्याडमिन्टन प्रतियोगिता शनिबारबाट सुरु भएको छ । सांसद एवं पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले अम्पायर सत्यनारायण मानन्धरलाई सटल कर्क प्रधान गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।
भिमसेनगोलास्थित सवै भन्दा पुरानो र सम्मानित क्लब किङ्ग कम स्पोर्टस् क्लबले सदस्य एवं खेलाडी बबिन बिक्रम बिष्टको सम्झनामा प्रतियाेगिता आयोजना हुँदै आएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अथिती सिंहले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यमा लागेको क्लबले खुला कोर्र्टमा खेल्दा आई पर्ने अप्ठ्यारा अवस्थालाई समाप्त गरि आगामी संस्करणमा आफ्नै कभर्ड हलमा खेल्नेमा आफु बिश्वस्त रहेको बताए । उनले त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत आश्वासन दिए ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संघको आफ्नै कभर्डहल नभएका कारण उत्कृष्ट खेलाडी उत्पादनमा कठिनाई भएको बताएका थिए । उनले काठमाडौंको सितापाईलामा जग्गा भेटाएको उल्लेख गर्दै अब हल निर्माण अगाडी बढ्ने उल्लेख गरे ।
आफ्नै हल नभएका कारण म्याटमा खेलाडीले प्रशिक्षण गर्न नपाउँदा खेलाडीको क्षमतामा अभिबृद्धि गर्न नसकेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।
कोर्ट हिलो भएकाले शनिबार प्रतियोगिता गर्न सम्भव नभएका कारण आईतबारबाट मात्र प्रतियोगिताका खेल सुरु हुने आयोजकले जनाएका छन् ।
पुरुष युगलमा मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न २० क्लब, संस्था तथा ब्याक्तिगत रुपमा करिव १५० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका पुरुष एकल र पुरुष युगल तर्फ शीर्ष २० बरियतामा रहेका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्य रहेका कारण पुरुष एकल र युगलतर्फ शीर्ष २० बरियता प्राप्त खेलाडीलाई प्रतियोगितामा सहभागि नगराएको संयोजक शाहले बताए ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने जोडीले नगद ४० हजार, २५ हजार र १५ हजार प्राप्त गर्ने छन् ।