काठमाडौं। एसियन गेम्स २०२६ को क्याम्पमा रहेकी बक्सर सुष्मा तामाङले अभ्यासको क्रममा चोट बोकेकी छन्।
उनलाई राष्ट्रिय टिमको प्रशिक्षणमा ‘स्पाइरिङ’ गर्दा दाँया घुँडामा चोट लागेको थियो।
बैंककमा भएको एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२२ मा रजत पदक जितेकी सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’ भएको नेपाल बक्सिङ संघका सचिव पुष्करराज पन्तले जानकारी दिएका छन्।
उनी ब्लु क्रस हस्पिटलमा उपचारपछि डिसर्ज भइसकेकी छन्। उनले केही साता आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्।
उनी एसियाली स्तरको बक्सिङ च्याम्पियनसिपको फाइनल खेल्ने पहिलो नेपाली हुन्। त्यस क्रममा उनले ताइवान र मंगोलियाका बक्सरलाई पराजित गरेकी थिइन्।
उनले चीनको हाङचोउमा भएको १९औं एसियन गेम्स २०२२ लगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन्।