आर्मीलाई मदन भण्डारी इन्डो–नेपाल भलिबलको उपाधि

बुटवल। त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीबार ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि चुमेको हो। उपाधिसँगै आर्मीले सात लाख रुपैयाँ हात पार्यो।
प्रतियोगितामा उपविजेतामा चित्त बुझाएको पुलिसले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भयो। बिहीबार नै भएको खेलमा भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो। तृतीय भएसँगै मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ। यसैगरी गुजरातले एक लाख रुपैयाँमा चित्त बुझायो।
आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ट खेलाडी बने। उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक आर्मीका लोकबहादुर बूढा घोषित हुँदा उत्कृष्ट लिबेरो आर्मीकै इश्वर थापा र उत्कृष्ट सेटर आर्मीकै दुर्गाप्रसाद महतो चुनिए। यस्तै, पुलिसका सन्जुविक्रम शाह उत्कृष्ट आउट साइडर, रविन चन्द अपोजिट प्लेयर र रविन नगरकोटी उत्कृष्ट मिडल ब्लकर भए।
मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर च्याम्पियनसिप आयोजना गरेको थियो। पुस १७ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका एकसहित आठ टिमको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष ध्रुव आचार्यले बताए ।
आयोजक मदन भण्डारी फाउन्डेसनले पुरुष भलिबलबाट एकेडेमीको वार्षिक क्यालेन्डर सुरुवात गरेको हो ।