बुटवल। नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधिनजिक पुगेको छ।
बुटवलको रामनगर खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनमा गुजरात स्टेट भलिबल क्लबलाई ३–१ सेटको अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो।
दोस्रो सेमिफाइनल भने प्रतिकूल मौसमका कारण स्थगित भएको छ। बुधबार बिहान ११ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो सेमिफाइनल हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए।
योसँगै फाइनल खेल पनि एक दिन पछाडि धकेलिएको छ। अब फाइनल खेल पुस २५ गते बिहीबार हुनेछ। बिहीबार बिहान १० बजे तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। उपाधिका लागि भने दिउँसो १ बजे खेल हुने आचार्यले जानकारी दिए।
मंगलबार भएको सेमिफाइनलको पहिलो सेट गुजरात स्टेट भलिबल क्लबले २७–२५ ले जितेको थियो। तर, तीन सेट लगातार पुलिसले २५–१४, २५–२१ र २७–२५ जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।