बुटवल। दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
लिगचरणका अन्तिम खेलमा जित निकाल्दै आर्मी र पुलिस फरक फरक समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन्। यस्तै, समूहचरणमा उपविजेता बनेका गुजरात स्टेट भलिबल क्लब र मणिमुकुन्दले पनि अन्तिम चारमै स्थान पक्का गरेका छन्। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार पहिलो सेमिफाइनलमा पुलिस र गुजरात तथा दोस्रो सेमिफाइनलमा आर्मीर मणिमुकुन्द भिड्ने छन्।
सोमबार भएको पहिलो खेलमा पुलिसले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पहिलो सेट २५–१८ को हार बेहोरेको रुकुम पश्चिमले दोस्रो सेटमा पनि २५–१९ ले गुमायो। तेस्रो सेट प्रतिस्पर्धात्मक भए पनि अन्ततः पुलिसले २८–२६ ले जित्यो। दोस्रो खेलमा आर्मीले विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्यो।
दुई सेट २५–१७ र २५–२१ ले आर्मीले जितेको थियो। तर, तेस्रो सेट २५–१९ ले जित्दै एपिएफले खेलमा पुनरागमन गर्यो। तर, चौथो सेटमा आर्मीले २५–१५ ले जित्दै नतिजा आफ्नो पक्षमा पार्यो।