बुटवल। विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले शनिबार मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा जित हात पारेका छन्।
बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि ३–१ को सेटको जित हात पारेको हो। निक्कै प्रतिस्पर्धात्मकता खेलको पहिलो सेट पुलिसले २५–१५ ले जितेको थियो।
दोस्रो सेटमा भने २५–२० को अंकसहित मणिमुकुन्द पुनरागमन गर्न सफल रह्यो। त्यसपछिका दुई सेट २५–२० र २५–१८ अंकमा जित्दै पुलिसले खेल आफ्नो पक्षमा पार्यो। अर्को खेलमा भारतको गुजरातले एपिएफलाई ३–१ को सेटमा पराजित गर्यो । एपिएफले पहिलो सेट २५–२१ ले जितेको थियो। त्यसपछिका सेटमा भने गुजरात हाबी भयो । गुजरातले२५–१८, २५–१५, २५–१८ अंकले लगातार जित निकाल्यो ।
तेस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मीले गल्कोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता छ । जसमा समूह ‘ए’ मा नेपाल पुलिस, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी छन् अर्को समूहमा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी, गल्कोट भलिबल क्लब र गुजरात प्रदेश भलिबल एसोसिएसन छन् ।