बुटवल। विभागीय टोली त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपमा बिहीबार जित हासिल गरेका छन्।
बुटवलको रामनगर खेलमैदानमा भएको प्रतियोगिताको दोस्रो दिन आर्मीले भारतीय गुजरात स्टेट भलिबल एसोसिएसन र मणिमुकुन्द क्लबले रुकुमपश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गरेका हुन्। एपिएफ र गल्कोट भलिबल क्लबबीचको तेस्रो तथा अन्तिम खेल भने शीतलहरका कारण स्थगित भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा आर्मीले गुजरातलाई ३ –१ सेटमा पराजित गरेको हो। आर्मीले खेलको पहिलो सेट १५–२५ ले गुमाए पनि खेलमा पुनरागमन गर्न सफल भयो। त्यसपछिका सेट आर्मीले २९–२७, २५–२१ र २५–२२ ले जितेको हो।
दोस्रो खेलमा भने रुपन्देहीको मणिमुकुन्दले रुकुमपश्चिममाथि ३–० को सोझो सेटमा जित निकाल्यो। पहिलो सेटमा मणिमुकुन्दले २५–२१ ले जितेको थियो। त्यसपछिका सेट २५–१५ र २५–२१ आफ्नो बनायो।
एपिएफ र गल्कोटबीचको खेल भने चौथो सेटको प्रतिस्पर्धा हुँदै गर्दा स्थगित गरिएको हो। खेलमा गल्कोटले २–१ को अग्रता लिएको थियो। स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने भलिबल विभाग प्रमुख चन्द्रवन्दना राईले बताए।