काठमाडौं । नेपाल बुद्धिचाल महासंघको सामाजिक सञ्जालमा कोषाध्यक्षले अश्लील तस्बीर राखेको विषय उठेपछि कार्यसमिति बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।
कोषाध्यक्ष ताराबहादुर रानाभाटले कार्यसमितिको ह्वाट्सएप ग्रुपमा एक युवतीसँग खिचिएको नांगो फोटो पोष्ट गर्दा सम्पूर्ण नेपाली चेस जगतकै बदनाम भएककोले नैतिकताको आधारमा राजिनामा नदिए उनीमाथि छानबिन समिति बनाएर महासंघ अगाडि बढनुपर्ने वरिष्ठ उपाध्यक्ष दीपेन राईले कुरा उठाएका थिए । उनी बोल्दैगर्दा कोषाध्यक्ष रानाभाटले आफ्नो बचाउ गर्दै उफ्रिन थालेपछि तनावपूर्ण अवस्था सिर्जना भयो र बैठक नै स्थगित गर्नुपरेको थियो ।
एक उपाध्यक्षकाअनुमसार वरिष्ठ उपाध्यक्ष राई र कोषाध्यक्ष रानाभाटवीच हात हालाहाल नै भएको थियो । त्यसक्रममा टेबल, गिलासलगायत तोडफोड गरिएको थियो । यी दुईलाई अध्यक्ष हेराकाजी महर्जनलगायतले छुट्याएका थिए । अनि बैठक नै स्थगित भएको थियो ।
यसबारे सम्पर्क गर्दा वरिष्ठ उपाध्यक्ष राईले भने हात हालहाल नभई भनाभनमात्रै भएको दाबी गरे । उनले भने, ‘चेसजस्तो बौद्धिक खेलमा लागेका पदाधिकारीले महासंघ कार्यसमितिको ह्वाट्सएप ग्रुपमा नांगो फोटो पोष्ट गर्नु भनेको हामी सबैको बेइज्जती हो । यो घटना ‘घरबाहिरको भएपनि आफ्नो व्यक्तिगत जीवनको कुरा’ भएको भन्दै उहाँ झम्टिनुभयो र त्यसक्रममा गिलासलगायत केही सामान टुटेफुटेको रहेछ । बाहिर आएजस्तै हात हालाहाल भएको होइन, भनाभनमात्रै हो ।’
निज रानाभाटले युवतीसँग सेल्फी लिइएको नांगो फोटो आफैले ह्वाटसएप ग्रुपमा पोष्ट गरेको र केही समयपछि डिलिट गरेको बैठकमा स्वीकारेको एक सदस्यले बताए । यसबारे पटकपटक सम्पर्क गर्दा पनि कोषाध्यक्ष रानाभाटले फोन उठाएनन् । महासंघको कार्यसमितिमा हाल ६ महिलासहित २० सदस्य छन् । राष्ट्रिय खेलकुद परिषदले ६ महिनाअघि नै मनोनयन गरेका एक सदस्यलाई महासंघले अहिलेसम्म बैठकमा समावेश गरेको छैन ।
सातौं तुलसीलाल स्मृति राष्ट्रिय टिम क्लब च्याम्पियनसिप आयोजनाकै क्रममा च्यासल, ललितपुरमा कार्यसमिति बैठक शनिबार बोलाइएको थियो । सो दिन कोषाध्यक्षले नैतिकताको आधारमा राजिनामा नदिएमा तत्काल तानबिन समिति बनाएर कारबाहीको प्रक्रिया थाल्नुपर्ने चर्को आवाज उठेपछि बैठक नै स्थगित गरिएको थियो । फेरि भोलिपल्ट आइतबार निरन्तरता दिइएको बैठकमा कोषाध्यक्षमाथि नैतिक पतनसँगै आर्थिक हिसाबमा गडबडी गरेको आरोप लाग्यो । हात हालहाल नै भएपछि बैठक स्थगित गरिएको थियो ।