काठमाडौं। जापानको राष्ट्रिय भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपाली भलिबलको सम्बन्धमा छलफल गरेकी छन्।
एनपीओ रियाले वल्र्डको सहयोगमा नेपाल आएकी काजुमीले सन् १९९२ (बार्सिलोना) र १९९६ (एट्लान्टा) ओलम्पिक खेलेकी छन्। एथेन्स (२००४) र बेइजिङ (२००८) ओलम्पिकमा जापानी टिमको म्यानेजर रहेकी उनले आफ्नो अनुभव बाँड्दै नेपाली भलिबलको अवस्थाबारे जानकारी लिएकी हुन्।
‘नेपाल राम्रो लाग्यो र यहाँ बालबालिकाले पनि भलिबल खेलेको देख्दा धेरै खुशी लाग्यो,’ काजुमीले भनिन्, ‘खेलाडीले सबभन्दा पहिला तयारीसँगै अनुशासनमा ध्यान दिनुपर्छ। अनि अभ्यासमा जित्ने इच्छाशक्तिसाथ अनवरत मिहिनेत गर्नुपर्छ, जसले सफलता दिलाउँछ।’ उनी चारदिने नेपाल यात्रामा न्यू डाइमन्ड स्पोर्टस क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एपीएफ क्लबमा कार्यशालामा पनि सहभागी भइन्।
उनलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले नेपाली टिमको प्रशिक्षक बन्न पनि आग्रह गरे। भने, ‘काजुमीले चाहन्छिन् भने नेपाली टिमकाे प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आग्रह गर्दछु र यसको लागि एसियाली र विश्व भलिबलसँग कुरा गर्नेछु।’
संघका महासचिव रोशन श्रेष्ठकाअनुसार नेपाली टिम सम्हाल्ने पहिलो बिदेशी प्रशिक्षक नै जापानी हुन्। संघका उपाध्यक्ष युवराज श्रेष्ठले दुई देशबीच भलिबलको सम्बन्धलाई प्रगाढ बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता भएको बताए।
एनपीओ रियाले वल्र्डकी अध्यक्ष आया मियोसी किजाकीले भनिन्, ‘हामीले नेपाल र अफ्रिकामा सहयोग गरिरहेका छौं। सन्तोष साहुखलसँग प्रभावित भएर नेपालको फुटबलमा सहयोग गरेका हौं। फुटबलपछि अरु खेलमा पनि के गर्ने भनेर हेरिरहेका छौं।’ थिमिमा सञ्चालन भइरहेको फुटबल एकेडेमीलगायत संस्थाका कामबारे सचिव चिकाको मियामोताले जानकारी गराएकी थिइन्।