काठमाडौं। हेल्प नेपाल स्पोर्ट्सले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले आफ्नै राष्ट्रको गण्डकी प्रदेशलाई ३–१ को सेटमा पाखा लगाएको हो। हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो। गण्डकीको भने यो लगातार दोस्रो हार हो। गण्डकीले पहिलो खेलमा माल्दिभ्सको एचडिसी क्लबसँग ३–२ को हार बेहोरेको थियो।
पहिलो सेटमा गण्डकीले हेल्प नेपाललाई कुनै चुनौती दिन सकेन। उक्त सेट हेल्प नेपालले २५–१४ ले जित्यो। दोस्रो सेटमा भने गण्डकीले पुनरागमन गर्ने प्रयास गरे पनि २५–२३ ले खेल गुमायो। तर, चौथो सेट २३–२५ ले आफ्नो बनाउँदै खेल १–२ को स्थितिमा ल्यायो। तर, चौथो सेटमा हेल्प नेपालले २५–१६ को सहज जित निकाल्यो।
नेपालबाट आठौं एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा स्थान बनाएका हुन्। सिंगल राउन्ड रोविनमा हुने लिग चरणमा १० खेल हुनेछन्। त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ। लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनलमा भिड्ने छन्। दोस्रो र चौथो हुने टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्नेछन्। फाइनल खेल मंसिर २९ गते हुनेछ।