काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत आइबार नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेश एकआपसमा भिड्दै छन्।
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ। हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
पहिलो सेट हेल्प नेपालले २५–२२ ले आफ्नो बनाए पनि त्यसपछिका दुई सेट २०–२५ र २२–२५ ले लगातार गुमाएको थियो। तर, चौथो सेटमा २६–२४ र अन्तिम तथा निर्णायक सेट १५–१० ले सहजै आफ्नो पक्षमा पार्दै हेल्प नेपालले दुई अंक आफ्नो पक्षमा पार्यो।
यता, गण्डकीले भने सुरुआती दुई सेटको अग्रता जोगाउन नसक्दा च्याम्पियन सुरुआत गर्न पुग्यो। माल्दिभ्सको एचडिसी क्लबसँग पहिलो र दोस्रो सेट गण्डकीले २५–१८ र २५–२३ ले जितेको थियो। तर, त्यपछिका तीन सेटमा एचडिसीलाई कडा टक्कर दिए पनि गण्डकीले खेलमा पुनरागमन गर्न सकेन। तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २८–२० र १३–१५ ले सुम्पिन पुग्यो।
नेपालबाट आठौं एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा स्थान बनाएका हुन्। प्रतियोगितामा यी चारबाहेक इरानको चादौर क्लबले पनि सहभागिता जनाएको छ।
सिंगल राउन्ड रोविनमा हुने लिग चरणमा १० खेल हुनेछन्। त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ। लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनलमा भिड्ने छन्। दोस्रो र चौथो हुने टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्नेछन्। फाइनल खेल मंसिर २९ गते हुनेछ।