काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपमा शनिबार नेपालका दुई क्लब हेल्प नेपाल स्पोर्ट्स र गण्डकी प्रदेश खेल्दै छन्।
उद्घाटन खेलमा हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३:१५ बजे सुरु हुनेछ।
यो खेल सकिएसँगै गण्डकीले माल्दिभ्सको एचडिसी क्लबको सामना गर्नेछ। नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका हेल्प नेपाल र गण्डकी प्रदेशसहित पाँच क्लबको सहभागिता छ।
नेपालबाट आठौं एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा स्थान बनाएका हुन्। प्रतियोगितामा यी दुईबाहेक भारतको क्यलिकट, माल्दिभ्सको एचडिसी क्लब र इरानको चादौर क्लबले पनि सहभागिता जनाउने छन्।
सिंगल राउन्ड रोविनमा हुने लिग चरणमा १० खेल हुनेछन्। त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ। लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनलमा भिड्ने छन्। दोस्रो र चौथो हुने टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्नेछन्। फाइनल खेल मंसिर २९ गते हुनेछ।