काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप उद्घाटन खेलमा भारतको क्यालिकट हिरोजसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले शनिबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३:१५ बजे सुरु हुनेछ।
नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका हेल्प नेपाल र गण्डकी प्रदेशसहित पाँच क्लबको सहभागिता छ।
नेपालबाट आठौं एनभिएल लिगको विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा स्थान बनाएका हुन्। प्रतियोगितामा यी दुईबाहेक भारतको क्यलिकट, माल्दिभ्सको एचडिसी क्लब र इरानको चादौर क्लबले पनि सहभागिता जनाउने छन्।
सिंगल राउन्ड रोविनमा हुने लिग चरणमा १० खेल हुनेछन्। त्यसपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ। हेल्प नेपालले दोस्रो खेल मंसिर २३ गते गण्डकीसँग खेल्नेछ। त्यसपछि दुई दिन आराम गर्दै हेल्प नेपालले माल्दिभ्सको एचडिसीसँग प्रतिस्पर्धा गर्नेछ। मंसिर २७ गते चादौरसँग खेल्दै हेल्प नेपालले लिग चरणका खेल सक्काउने छ।
लिग चरणमा पहिलो र तेस्रो हुनेबीच पहिलो सेमिफाइनलमा भिड्ने छन्। दोस्रो र चौथो हुने टोली दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै फाइनलको दाबेदारी प्रस्तुत गर्नेछन्। फाइनल खेल मंसिर २९ गते हुनेछ।