काठमाडौं। ७औं नेक्सस कप फुटबल प्रतियोगिता मंसिर तेस्रो सातबाट हुने भएको छ। आयोजक नेक्सस इन्टरनेशनल एकेडेमीका अनुसार मंसिर २० देखि सुरु हुने प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरू मध्यपुर युवा संघको खेल मैदानमा आयोजना हुनेछ।
यस वर्षको प्रतियोगितामा १६ उत्कृष्ट टिम सहभागी हुनेछन्। नेक्सस, बेस्ट ग्रुप भिजन, ग्लोबल, कौस्तुभ, नेपाल तारा, गेटवे, लाइसेम, एकलव्य, मोनास्टिक, ओर्किड, ग्रिनविच, पिसप्वाइन्ट, नालन्दा, ब्रह्म कुञ्ज, विनायक शिक्षा निकेतन र भक्तपुर निस्टले सहभागिता जनाउने इभेन्ट म्यानेनर विवेक कटुवालले बताए।
प्रतियोगिता नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजना र मध्यपुर युवा संघ, संकटा क्लब र एन्फाको सहकार्यमा सम्पन्न हुनेछ। डिजिटल एन्ड बियोन्डले प्राविधिक सहयोग प्रदान गर्नेछ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। उपविजेतालाई भने २५ हजार दिइने आयोजकले जनाएको छ। यसबाहेक फेयर प्ले, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, खेलपाटी मिडिया पार्टनर रहने छ।