शिभाली च्याम्पियन

काठमाडौं। नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट वानको गल्र्स सिंगल्समा बिहीबार पहिलो भएका छन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा शिभालीले बंगलादेशी हुमीराह हैदरलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन्। शिभालीको यो दोश्रो स्वर्ण हो। यसअघि शिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गल्र्स डबल्समा पहिलो भएका थिए।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिस नन्दाको जोडी पहिलो बने। उक्त जोडीले फाइनलमा भारतका हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीलाई ७–६ र ६–३ को सोझो सेटमा हराए।
ब्वाइज सिंगल्समा पनि तनिश फाइनलमा पुगेका छन्। सेमिफाइनलमा उनले नेपालका वृजेश अर्याललाई ३–६, ६–१ र ६–२ ले पन्छ्याउदै भारतकै अभी अग्रवालसँग फाइनल भेट पक्का गरे। अर्को सेमिफाइनलमा अभीले न्युजिल्यान्डका ज्याक्स रुपमाथि ६–० र ६–३ को जित दर्ता गरेका थिए।