काठमाडौं। भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई प्रायोजन गरेको छ।
नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनीले शुक्रबार उनीसँग औपचारिक हस्ताक्षर गर्दै प्रयोजनको घोषणा गरेको हो। योसँगै उषाले भाटभटेनीबाट वार्षिक १० लाख प्राप्त गर्नेछिन्। यो सम्झौता आगामी एक वर्ष चल्नेछ।
भाटभटेनीले विशेष गरी महिला प्रतिभालाई बढावा दिन र युवा खेलाडीको पुस्तालाई उनीहरूको सपनाहरू पछ्याउन प्रेरित गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यअनुसार उषालाई प्रयोजन गरिएको भाटभटेनीका निर्देशक कल्याण गुरुङले जानकारी दिए।
‘हामी महिला सशक्तिकरणको शक्तिमा दृढ विश्वास गर्छौं। उषाजस्ता महिला खेलाडीहरूलाई सहयोग गर्नु भनेको यसको विस्तार हो। महिलाहरूको उत्थान र जीवनका सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने अवसरहरू सिर्जना गर्ने हाम्रो प्रतिबद्धता छ,’ उनले भने।