काठमाडौं। नेपालका स्वस्तिका तिरुवा र नोर्बुथेन्डुप शेर्पाले मंगलबार आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदक जितेका छन् । बहराइनको मानामास्थित अल अहली क्लबमा भएको फाइनलमा दुवैले ब्राजिलका खेलाडीलाई पराजित गरेका हुन् ।
महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरिन् । सेमिफाइनलमा उनले ब्राजिलकै बारोस फरेरा मार्सेलो डीलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
समग्रमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । स्वस्तिकाले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेकी थिइन् । ठमेलस्थित एभरेस्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी सुदूरपश्चिमको कञ्चनपुर निवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् ।
सन् २०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले २ वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् ।
पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३–२ ले हराए । सेमिफाइनलमा उनले बहराइनका अनास अल जलाकीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।
नोर्बुको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो । पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका चार खेलाडीले पदक जिते । नेपालले समान २÷२ स्वर्ण र कांस्य जित्यो । पुरुष ४६ केजीमुनि रोहित जनाला तथा पुरुष ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे । पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गरेका युनिक राई मात्र पदकविहीन बने ।