काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई भाटभाटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले प्रोत्साहनस्वरुप १० लाख रुपिया दिने भएको छ ।
करिअरकै उच्च लयमा रहेकी उषालाई नेपाली भलिबलमा गरेको योगदान र स्तरबृद्धिमा साथ दिनका लागि प्रोत्त्साहनस्वरुप १० लाख दिएको भाटभाटेनीले जनाएको छ । प्रोत्साहन रकमको लागि एक वर्षे सम्झौता गरिएको छ ।
नेपाली टिम काठमाडौंमा दुई महिनाअघि भएको काभा वुमेन्स भलिबल नेसन्स लिगमा उपविजेता भएको थियो ।
नेपाली टिमको यो यात्रामा तनहुँकी २० वर्षीया उषाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट वुमेन्स लिग भलिबलमा काठमाडौं स्पाइकरमा मार्की खेलाडी रहेकी थिइन् ।
गत महिना माल्दिभ्समा भएको काभा वुमेन्स क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस च्याम्पियन भएको थियो, जसमा उषाले च्याम्पियनसिपकै बेस्ट प्लेयर र बेस्ट आउटसाइड हिटरको अवार्ड जितेकी थिइन् ।