काठमाडौं । काभा यू–२० मेन्स भलिबलमा नेपालले बिहीबार किर्गिस्तानसँग हार ब्यहोरेको छ ।
श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको आफ्नो चौथों खेलमा नेपालले ३–२ को प्रतिस्पर्धात्मक हार ब्यहोरेको हो ।
खेलमा उत्कृष्ट पुनरागमन गरेपनि नेपालले जित निकाल्न भने सकेन । अन्तिम सेटमा नेपाललाई १९–१७ ले हराउँदै किर्गिस्तानले जित निकाल्न सफल रह्यो ।
पहिलो र दोस्रो सेटमा क्रमश २५–२३ र २५–२१ ले जित निकाल्दै किर्गिस्तानले शानदार सुरुवात गरेको थियो । तेस्रो सेट २५–२१ र चौथों सेटमा २५–२२ को जित निकाल्दै नेपालले उत्कृष्ट पुनरागमन रचेको थियो ।
नेपालले समूह चरणका चार खेल मध्य दुई खेलमा जित र दुईमा हार ब्यहोरेको छ ।
पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सेटमा हराएको थियो ।
दोस्रो खेल उज्वेकिस्तानसँग ३–१ ले गुमाएको नेपालले तेस्रो खेलमा बुधबार माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।
श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजक सहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।