काठमाडौं। एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यसभिएस र ललितपुर क्विन्स भिड्ने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार राति भएको खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा पराजित गरेसँगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो।
जितसँगै शीर्ष स्थानको कर्णालीले पाँच खेलबाट १३ अंक जोड्यो। ललितपुरले १० अंक जोड्दा काठमाडौं स्पाइकर्सको भने एक अंक कम रह्यो।
लिगचरणको अन्तिम खेलको पहिलो सेट काठमाडौंले २५–२३ ले जितेको थियो। तर, दोस्रो सेटमा भने काठमाडौं प्रभावकारी देखिएन। उक्त सेट कर्णालीले १४–२५ ले आफ्नो बनायो।
तेस्रो सेट पहिलो झैं प्रतिस्पर्धात्मक भएको थियो। तर, उक्त सेट कर्णालीले २३–२५ ले आफ्नो बनायो। चौथो सेटमा पनि काठमाडौंले कर्णालीलाई चुनौती दिन सकेन र खेल १२–२५ ले गुमाउँदै लिगचरणबाटै बाहिरियो।