काठमाडौं। एभरेस्ट महिला भलिबल लिगअन्तर्गत अन्तिम दिनको लिग खेल सुरु हुन ढिला भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा दिउँसो ३:४५ बजे चितवन शक्ति र ललितपुर क्विन्सको खेल हुने तय थियो। यसका लागि टस भएर चितवन शक्तिले ललितपुर क्विन्सविरुद्ध पहिला सर्भिस गर्ने पनि तय भइसकेको छ।
तर, ट्यालेन्ट हन्टबाट कर्णाली कर्णाली एसभिएस, गण्डकी थन्डर्स र काठमाडौं स्पाइकर्सले नियमविपरीत खेलाडी छनोट गरेको भन्दै चितवन र ललितपुर कोर्टमा उत्रिन अस्वीकार गरिरहेका छन्।
काठमाडौंले ट्यालेन्ट हन्टबाट रितिका भट्ट र कर्णालीले सितासेन ठकुरीलाई छनोट गरेको थियो। तर, यी दुवै खेलाडीले यसअघि नै राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेको भन्दै चितवनले आपत्ति जनाएको हो। रितिका नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्टकी छोरी हुन्।
यस्तै, गण्डकीले सोइङ थापालाई यसरी नै छनोट गरेको आरोप लगाएको छ। दुवै टोलीले आआफ्नो उजुरीको सुनुवाइ नभएसम्म कोर्ट नउत्रिने अडान लिएका छन्। यद्यपि, खेलाडी, प्रशिक्षक र टोली त्रिपुरेश्वरस्थित राखेप कभर्ड हल पुगिसकेका छन्।