काठमाडौं। कर्णाली एसभिएसले एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको खेलमा ललितपुर क्विन्सलाई कर्णालीले ३–० को सेटमा पराजित गरेको हो। जितसँगै कर्णाली आठ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
समान तीन खेल खेलेको ललितपुरको ६ अंक छ। पहिलो हार बेहोरेको ललितपुर दोस्रो स्थानमा झरेको छ। कर्णालीले यसअघि मधेश युनाइटेडलाई ३–१ र गण्डकी थन्डर्सलाई ३–२ को सेटमा पाखा लगाएको थियो।
ललितपुरले भने काठमाडौं स्पाइकर्स र मधेशलाई ३–१ को सेटमा पराजित गरेको थियो। ललितपुरले तीनवटै सेटमा कर्णालीलाई चुनौती दिएको थियो। तर, ललितपुर जित निकाल्न भने असफल रह्यो।
पहिलो सेट २२–२५ ले गुमाएको ललितपुरले दोस्रो सेट पनि त्यही अंकले गुमायो। तेस्रो सेटमा २७–२९ ले कर्णालीलाई सुम्पिँदै ललितपुरले बुधबारको खेल अन्त्य गर्यो।