काठमाडौं। जापानका कोबायासी योहेइले शनिबार हुने १६औं काठमाडौं म्याराथनमा दौड्ने भएका छन् । ओसाका म्याराथनमा सहभागिता जनाइसकेका उनले पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा दौड्ने भएका हुन् ।
जापानको निप्पोन एसिया बेसबल फ्रेन्ड्स क्लब लालीगुराँसका अध्यक्ष समेत योहेइले नेपाल सफ्ट बल तथा बेसबल संघका पदाधिकारीसँग पनि भेटघाट गरेका छन् । बेसबलका अध्यक्ष दीपक न्यौपानेले योहेइले विगत २५ वर्षदेखि नेपाललाई बेसबलको विकास र विस्तारका लागि सहयोग गर्दै आएको जानकारी गराए ।
उनले नेपाललाई खेल सामाग्री सहयोग गर्नुका साथै जापानस्थित विभिन्न खेल संघसंग सम्बन्ध विस्तारका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आएको अध्यक्ष न्यौपानेले बताए ।
उनले फुकुसिमा बेसबल प्रोजेक्टअन्तर्गत नेपालका विभिन्न खेलमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपालका लागि जापानका राजदूत, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतसंग पनि भेट गरे ।