काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार चौथो जित हासिल गरेको छ। योसँगै चार खेलबाट ११ अंक जोडेको पुलिस फाइनलमा पुगेको छ।
बिहीबार घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित गरेको हो। प्रतिस्पर्धा पहिलो सेटमा पुलिस र वाम्को १८–१८ को स्थितिमा थियो। तर, पुलिसले दुई अंक जोड्दा वाम्कोले भने छलाङ मार्यो। उसले लगातार अंक जोड्दै २१–२५ ले पहिलो सेट आफ्नो बनायो।
दोस्रो सेटमा भने पुलिस कमब्याक गर्न सफल भयो। यो सेटमा पनि पुलिस १४–१४ को स्थितिमा थियो। तर, पुलिसले त्यसपछि लगातार अंक जोड्दै २५–२० ले सेट आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा भने वाक्कोले २१–२५ ले आफ्नो बनाउँदै खेल २–२ मा ल्याएको थियो। त्यसपछि खेल पाँचौं सेटमा धकालियो। पाँचौं तथा निर्णायक सेट पनि प्रतिस्पर्धात्मक बनेको थियो। यद्यपि, १५–१३ ले आफ्नो बनाउँदै पुलिसले अपराजित यात्रा कायमै राख्यो।
आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
सोमबार र मंगलबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई त्यही सेटमा पराजित गर्दै पुलिस अपराजित रहन सफल भएको थियो।