काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को फ्रेन्चाइजी चितवन शक्तिले भारतीय खेलाडी केपी अनुश्रीलाई भित्र्याएको छ।
उनी तेस्रो विदेशी खेलाडीको रूपमा चितवन भित्रिएकी हुन्। चितवनले यसअघि अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्नीको र भारतकी मिडलब्लकर सूर्या एसलाई अनुबन्ध गरिसकेको छ।
अनुश्री भारतकी युवा स्टार खेलाडी हुन्। उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रुपमा टोलीमा भित्र्याएको हो।
यसअघि पनि एनभीएल क्लब च्याम्पियनसिप र एनभीएल लिगमा बुटबलको एभरेस्ट क्लबमा आबद्ध भई खेलेकी उनी क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभिएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जितेकी खेलाडी हुन्।
उनी नेपालको भलिबलसँग परिचित अनुहार हुन्। उनी टिममा आबद्ध हुँदा टोली बलियो हुने र नेपाली भलिबल प्रेमी दर्शकका लागि पनि खेल रोमाञ्चक हुने आश गरेको छ। चितवनका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही टिमको मार्की खेलाडीको रुपमा रहेकी छन्।