पोखरा। लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय क्लब एपिएफलाई हराउँदै न्यु डायमन्ड युथ स्पोट्स क्लब शीर्ष स्थानमा उक्लिएको छ।
नवआदर्श सामुदायिक समाजको आयोजनामा इन्द्रराज्य लक्ष्मी खेल खेल मैदानमा जारी लिगको अन्तिम खेलमा एपिएफलाई सोझो सेटमा हराउँदै शीर्ष स्थान हासिल गरेको हो। पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमन्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो। डायमन्डले लिगचरणमा गण्डकी र एभरेस्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो।
राउन्ड रोविन लिगको आधारमा भएको खेलमा चार टोली सहभागिता रहेको थियो। शीर्ष दुई टोली सोझै फाइनल खेल्ने तालिका अनुसार डायमन्ड र एपिएफ यसअघि नै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरिसकेका थिए।
लिगको अन्तिम खेलको रूपमा रहेको यी दुईबीचको खेल फाइनलअघिको प्रशिक्षणसरह मानिएको छ। दुवै टोलीले फाइनलअघि एक अर्काको रणनीतिलाई बुझ्ने अवसर पाएका छन्। एपिएफले आफ्नो बेन्चमा रहेका खेलाडीलाई कोर्टमा उतारेको थियो। उता, डायमन्डले पनि बेन्चका खेलाडीलाई अवसर दिएको थियो।
हारपश्चात् एपिएफ दोस्रो स्थानमा रह्यो। एपिएफको तीन खेलबाट ६ अंक रह्यो। एपिएफले लिग चरणमा एभरेस्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो।
यस्तै, बिहीबार भएको प्रतिष्ठाको खेलमा एभरेस्टले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो। पहिलो सेट प्रतिस्पर्धात्मक रहे पनि नतिजा भने एभरेस्टको पक्षमा २६–२४ रह्यो। दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१९ ले हराउँदै एभरेस्टले जित हासिल गरेको हो। योसँगै एभरेस्टले ३ खेलमा दुई जित एक हारसहित ३ अंक जोड्दा ३ खेलमै हार व्यवहारेको गण्डकी अन्तिममा रह्यो।
यता, पुरुषतर्फको खेलमा भने विभागीय डर्बी फाइनलमा प्रवेश गरेका छन्। नेपाल पुलिस र एपिएफ एक खेलअगावै फाइनल प्रवेश गरिसकेका छन्। एपिएफल र पुलिस पनि शीर्ष स्थानमा को रहने भन्नेमा प्रतिस्पर्धा गर्नेछन् भने फाइनलअघि यी दुईको पनि प्रशिक्षण खेलसरह नै रहने छ।