पोखरा। विभागीय टोली एपिएफले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजना मंगलबारदेखि सुरु भएको प्रतियोगिता पुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वारी गलकोटलाई ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट एपिएफले २५–१७ ले सहजै जितेको थियो। तर, दोस्रो सेटमा भने गलकोटले उत्कृष्ट पुनरागमन गर्दै २५–२७ ले खेल आफ्नो पक्षमा पार्यो। तर, तेस्रो सेटमा भने एपिएफसँग गलकोट पुन: निरिह देखियो।
उक्त सेट एपिएफले २५–१६ ले आफ्नो पार्दै २–१ को अग्रता लियो। चौथो सेटमा गलकोटले एपिएफलाई निकै चुनौती प्रस्तुत गरेको थियो। तर, अन्तिममा एपिएफले २६–२४ ले आफ्नो बनाउँदै जित सुनिश्चित गर्यो।