पोखरा। साबिक उपविजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबले लामाचौर आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजना मंगलबारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो खेलमा न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। न्यु डायमन्डविरुद्ध एभरेस्टले कुनै सेटमा पनि टक्कर दिन सकेन। पहिलो सेट २५–१४ ले गुमाएको एभरेस्ट त्यसपछिका दुई सेट २५–१२ र २५–१७ ले गुमायो।
मंगलबार नै भएकफ खेलमा एपिएफले गण्डकीलाई ३–१ को सेटमा पाखा लगाएको थियो। जितसँगै न्यु डायमन्ड र एपिएफले समान तीन अंक जोडेका छन्।
राउन्ड रोबिनको आधारमा भइरहेको प्रतियोगितामा अब एभरेस्टले एपिएफ र गण्डकीसँग खेल्नेछ। न्यु डाइमन्डले भने गण्डकी र एपिएफसँग खेल्नेछ।
महिला तथा पुरुषतर्फ समान चार टोलीको सहभागिता छ। प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ। विजेताले समान एक लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले एक लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदमा चित्त बुझाउनेछन्।
सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट प्रशिक्षकलाई पनि विधागत पुरस्कार प्रदार्न गरिने आयोजकले जनाएको छ।
महिलातर्फ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करणको प्रतियोगिता भइरहेको हो। गत संस्करणको पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकीले जितेको थियो। फाइनलमा पुलिसमाथि गण्डकीले ३–२ को सेटमा जित हासिल गरेको थियो।
महिलातर्फको उपाधि डिफेन्डिङ च्याम्यिन नेपाल पुलिस क्लबले हात पार्यो। फाइनलमा न्यु डायमन्डलाई ३–१ को सेटमा हराउँदै पुलिसले उपाधि रक्षा गरेको थियो।